दफा ४३
निर्वाचन बदर गर्न उजूर दिन सक्ने
(१) सम्बन्धित उम्मेदवारले देहायका कुनै आधारमा निर्वाचन बदर गरी पाऊँ भनीे उजूर गर्नु पर्ने कारण सिर्जना भएको मितिले पन्ध्र दिनभित्र सम्बन्धित अदालतमा उजूरी दिन सक्नेछः–
(क) निर्वाचनमा यस ऐनको परिच्छेद–२, ३, ४, ५, ६ र ७ विपरीतको कार्य भएकोलेनिर्वाचन निष्पक्ष नभएको,
(ख) निर्वाचनमा कुनै व्यक्तिले उम्मेदवार हुनको लागि दिएको मनोनयनपत्र सदर हुनु पर्नेमा सदर नभएको वा बदर वा खारेज हुनु पर्नेमा बदर वा खारेज नभएकोले त्यस्तो निर्वाचनको नतिजामाफरक परेको,
(ग) निर्वाचित उम्मेदवारले निर्वाचनमा प्रचलित सङ्घीय कानून बमोजिम तोकिएको हदभन्दा बढी खर्च गरेको वा निजले अस्वाभाविक रुपले वा गैरकानूनी प्रयोजनको लागि खर्च गरेकोवा गैरकानूनी रुपमा सहयोग प्राप्त गरेको ।
(२) उपदफा (१) बमोजिम दिएको उजूरी प्रमाणित भएमा अदालतले निर्वाचित उम्मेदवारको निर्वाचन बदर गर्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुराहरु प्रमाणित भएमा त्यस्तो निर्वाचन बदर हुने छैनः–
(क) उपदफा (१) को खण्ड (क) बमोजिमको कुनै काम कारबाही निर्वाचित उम्मेदवार वा निजको प्रतिनिधिको जानकारी वा अनुमति बिना भएको वा निजले निर्वाचनमा त्यस्तो काम कारबाही हुन नदिने प्रयत्न गरेको, वा
(ख) उपदफा (१) को खण्ड (क) मा उल्लेख भएको कुनै काम कारबाहीबाट निर्वाचनको परिणाममा वास्तविक रुपमा असर नपरेको।